>
काठमाडौं, चैत २७ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बारम्बार गरिएको प्रयासमाथि वेवास्ता र गैरजिम्मेवारी देखिएपछि सिंहदरबारको फोहोर नउठाइएको बताइएका छन् ।सोमबार बिहान सामाजिक सञ्जालमा चौधवटा उदाहरण दिंदै शाहले सिंहदरबारको फोहोर नउठाउने विषय लहडमा नभई बारम्बरको प्रयास असफल भए पछि सो निर्णय लिनुपरेको बताएका हुन् । मेयर शाहले चैत २५ गते शनिबार सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका थिए ।>
'९ महिनामा पटक पटक पहल गर्दा पनि समन्वय गर्न र समन्वय भएका कुराहरु कार्यान्वयन गर्न मुस्किल परेको अवस्था छ', शाहले बताएका छन् । जसका उदाहरणहरु उनले दिएका छन् ।>
१. गृह मन्त्रालय : अव्यवस्थित बस्ति व्यवस्थापन, ट्राफिक लाइट व्यवस्थापन, मूर्ति चोरी - ३ मन्त्रीसँग पटक पटक पहल, सहमति भएर माइन्युट समेत भइसकेको तर कार्यान्वयन नभएको ।>
२. परराष्ट्र मन्त्रालय : विदेशी नियोगले मिचेको फुटपाथ व्यवस्थापन गर्न पत्राचार>
३. शिक्षा मन्त्रालय : सरकारी विद्यालयको लागि डिजिटल टिभी, शिक्षक सरुवा तथा शिक्षकलाई समयमै तलब दिने सम्बन्धमा - दुई मन्त्रीसँग विभिन्न चरणमा कुरा हुँदा पनि कुरा अगाडि नबढेको ।>
४. स्वास्थ्य मन्त्रालय : सरकारी अस्पताल सरसफाइ, बिमा, सर्वोच्च अदालतले दिएको मन्त्रालयको माथिल्लो तल्ला भत्काउने आदेशको पालना, राष्ट्रिय एम्बुलेन्स (१०२) को काठमाडौँ उपत्यकाभरी सेवा दिनलाई बजेट व्यवस्थापन - दुई मन्त्रीसँग विभिन्न चरणमा पहल गरिएको ।>
५. पर्यटन तथा नागरिक उड्ययन : एयरपोर्टको नक्सा पास, एयरपोर्टको बर्खाको पानीले गर्दा पेप्सीकोला क्षेत्र डुबानको समाधान, एयरपोर्टमा रहेको नेपाल संबत् सुरु भएको ठाउँमा मूर्ति र पार्क बनाउन पहल - दुई मन्त्रीलाई पटक पटक पहल गरिएको ।>
६. अर्थ मन्त्रालय : ५२ बर्षदेखि तिनकुनेमा सरकारले जग्गा मिचे पनि जग्गाधनीलाई मुअब्जा दिन आनाकानी, महानगरले पाउनु पर्ने घरबहाल कर नेपाल सरकारले उठाएकोबारे, याङ्री र लार्के खोलाको पानी मेलम्चीमा जोडेर १२ महिना नै काठमाडौमा मेलम्चीको पानी ल्याउने कार्यक्रम - २ मन्त्रीसँग पटक पटक पहल>
७. सहरी विकाश : खोला कोरीडोर, खोला सरसफाइ, खोलामा फोहोर प्रशोधन प्लान्ट, अन्डर पास, बन्चरेमा लिचेडको व्यवस्थापन, माटो क्यापिङको व्यवस्थापन अनि साईटको ग्यास पाईपको व्यवस्थापन, वैकल्पिक बाटोको व्यवस्थापन, काठमाडौमै फोहोर ब्यबस्थापन गर्न कानुन र जग्गा - ४ मन्त्रीसँग पटक पटक पहल ।>
८. भौतिक यातायात : रिङरोड बिस्तार, उपत्यका यातायात प्राधिकरण गठन - दुई मन्त्रीहरूसँग पटक पटक पहल ।
९. सूचना तथा सञ्चार : ISP र टेलिकमबिच एकिकृत पुर्वाधार सञ्चालनबारे जसले गर्दा देशभर पोलमा तार व्यवस्थापन गर्न सकियोस् - २ मन्त्रीसँग पहल
१०. ऊर्जा मन्त्रालय : सडक बत्ति अव्यवस्थित रहेकोलाई व्यवस्थापनमा सहयोग - २ मन्त्रीसँग पहल
११. खानेपानी : मेलम्चीको पानी र पाइप व्यवस्थापन, KUKL को उचित व्यवस्थापन पहल - २ मन्त्रीसँग पटक पटक पहल
१२. भूमिसुधार मन्त्रालय : सहकारी नियमावली, सहकारी कानुन, सार्वजनिक जग्गा संरक्षण - मन्त्रीसँग पटक पटक पहल
१३. सङ्घीय मामिला : तिनकुने विवाद पहल, कर्मचारी सरुवा - दुई मन्त्रीसँग पटक पटक पहल
१४. कृषि मन्त्रालय : मल खरिद तथा उपत्यकामा आउने तरकारीको परिक्षण - मन्त्रीसँग पटक पटक पहल>
शाहले ५०० मिटरको दुरीमा रहेको स्थानीय सरकारले जनजीविकाका सवालमा उठाएका यस्ता मुद्दा त अगाडि बढ्दैनन्, सुनेको नसुनै हुन्छ भने दुरदराजका स्थानीय तहहरुमा भएको नीतिगत अफ्ठ्यारा, कार्यक्षेत्रको विवाद लगायतका कुराहरुको सम्बोधनको अवस्था कस्तो होला ? भनेर प्रश्न गरेका छन् ।>
उनले यसैका लागि असमन्वयकारी भुमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भनेर फोहोर नउठाइएको हो भनेर प्रष्टिकरण दिएका छन् ।>>