>
काठमाडौं । गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ ।>
राष्ट्रपति पदका अर्का उम्मेदवार पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल बिहीबार राष्ट्रपति निर्वाचित हुनुभएको हो । पौडेलसँग प्रधानमन्त्री पदमा १७ पटक पराजय भागेको इतिहास छ ।>
चार दशकसम्म संसदीय चुनावमा जीत हात पार्दै आउनुभएका पौडेलको राजनीतिक जीवनमा एउटा कालो धब्बाका रुपमा रहेको छ, प्रधानमन्त्री पदमा १७ पटकको पराजय । यद्यपि, यो कालो धब्बा लाग्नुमा उहाँ स्वयम् जति जिम्मेवार हुनुहुन्छ, त्योभन्दा बढी तत्कालीन संवैधानिक व्यवस्था जिम्मेवार छ ।>
०६७ साउनबाट सुरु भएको प्रधानमन्त्रीको चुनावमा कांग्रेसबाट पौडेल, एमाओवादीबाट प्रचण्ड र एमालेबाट झलनाथ खनालले संसदमा उम्मेदवारी दिनुभएको थियो । तर, संवैधानिक प्रावधानअनुसारको मतसंख्या तीनैजनाले हासिल गर्न नसकेपछि सात पटकसम्म तीनजनाबीच प्रतिस्पर्धा भयो ।>
आठौं प्रतिस्पर्धापछि प्रचण्ड प्रधानमन्त्रीको दौडबाट आफैं बाहिर निस्किनुभयो । त्यसपछि पौडेलले खनालसँग १७ पटक प्रतिस्पर्धा गर्नुभयो । यो चुनावी श्रृंखलाबाट कुनै परिणाम आउन नसकेपछि निर्वाचनसम्वन्धी नियमावली नै परिवर्तन गरियो ।>
अर्को चरणमा झलनाथले बाजी मार्नुभयो रामचन्द्रको प्रतिस्पर्धा खेर गयो । तर यो पटक भने आठ दलीय गठबन्धन बनाएर पहिलो प्रयासमा नै मुलुकको सर्वोच्च पदमा निर्वाचित हुनुभयो ।>
२००१ साल असोज २९ गते तनहुँको ब्यासमा जन्मिनुभएका पौडेल आफ्नो ६३ वर्षे सक्रिय राजनीतिक यात्रा पार गर्दै अब राष्ट्रप्रमुख बन्नुभएको छ । कांग्रेस पार्टीबाट छ दशक अनवरत प्रजातान्त्रिक आन्दोलनमा संलग्न रहनुभएका पौडेल अब संबैधानिक राष्ट्रप्रमुखको रुपमा सबैको साझा भएर काम गर्ने जिम्मेवारीमा आइपुग्नुभएको छ ।>
पौडेल ६ पटक सांसद, ५ पटक मन्त्री र एकपटक प्रतिनिधिसभाको सभामुख बन्नुभयो । नवनिर्वाचित राष्ट्रपति पौडेल २०१६ सालमा हिमालयन छात्र संघको सदस्य बन्नुभएको थियो । २०१७ सालमा राजाले संसद् भङ्ग गरी वीपीलाई जेल हालेको विरोधमा उहाँ प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुनुभयो । र त्यसपछि सक्रिय राजनीतिमा अघि बढ्नुभयो ।>
२०२७ सालमा नेविसंघको संस्थापक सदस्य बन्नुभएका पौडेल २०३४ सालबाट आफ्नै जिल्ला तनहुँबाट जिल्ला सदस्य भएर मूल पार्टी नेपाली कांग्रेसमा सक्रिय हुनुभयो ।>
२०४३ सालमा केन्द्रीय सदस्य एवम् प्रचार विभाग प्रमुख हुँदै निरन्तर केन्द्रीय सदस्य रहनुभएका पौडेल २०६२ सालमा केन्द्रीय महामन्त्री, २०६४ सालमा केन्द्रीय उपसभापति, २०७२ सालमा कार्यवहाक सभापति बन्नुभयो ।>
२०४८ सालपछि भएका ७ वटा संसदीय चुनावमध्ये २०७४ सालको बाहेक अन्य सबै निर्वाचतमा उहाँले तनहुँबाट जित हात पार्नुभएको छ । २०५१ सालमा प्रतिनिधि सभाको सभामुख बन्नुभएका पौडेल २०६५ मा कांग्रेस संसदीय दलको नेता बन्नुभयो र विपक्षी दलको नेताको भूमिका निर्वाह गर्नुभयो ।>
२०४८ सालमा पहिलोपटक स्थानीय विकास मन्त्री बन्नुभएका पौडेल, २०४९ सालमा कृषिमन्त्री, २०५६ सालमा उपप्रधानमन्त्रीसहित सूचना तथा सञ्चारमन्त्री, स्थानीय विकास र गृहमन्त्री बन्नुभयो । २०६३ माओवादी शान्तिप्रक्रियामा आएपछि उहाँ शान्ति तथा पुनःनिर्माण मन्त्री बन्नुभयो ।>
प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गिरफ्तार र १५ वर्ष जेल जीवन बिताउनुभएका पौडेल २०७९ फागुन २५ गते बिहीबार भएको चुनावबाट गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित हुनुभयो । अब उहाँको काँधमा संविधानको संरक्षक भएर राष्ट्रको अभिभावकत्व गर्ने जिम्मेवारी आइपुगेको छ ।>
>>